१८ मंसिर २०७७, बिहीबार , ०३:५९

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम म्याच खेल्दै छ ।

उसले आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग खेल्न लागेको हो । यी दुई टिमबीचको खेल नपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।

दुबै टिमका लागि यो खेल निकै महत्वपूर्ण छ । जुन टिमले यो म्याच जित्छ ऊ टोली ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ ।

पछिल्ला खेलमा दुबै टिम लयमा देखिएका छैनन् । आरसीबीले पछिल्ला तीन म्याचमा लगातार हार ब्यहोरेको छ ।

त्यस्तै, सुरुवातमा राम्रो प्रदर्शन गरेको दिल्लीले पछिल्ला चार खेलमा लगातार हारको सामना गरेको छ ।

अहिलेसम्म दिल्ली आईपीएलको फाइनलसम्म पनि पुग्न सकेको छैन । आरसीबीले धेरै पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने अहिलेसम्म हात पार्न सकेको छैन ।

जारी सिजनमा दिल्लीले १३ खेलमा ७ मा जित र ६ खेलमा हारको सामना गरेको छ । आरसीबीले पनि १४ मध्ये ७ मा जित र बाँकी खेलमा पराजय ब्यहोरेको छ ।

सन्दीपको सम्भावना कति?

लिग चरणको अन्तिम म्याचमा पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना न्यून छ ।

विदेशी कोटाबाट खेलिरहेका खेलाडीले पछिल्लो म्याचमा प्रदर्शन सन्तोषजनक नगरे पनि आज पनि उनीहरूलाई नै दिल्लीले दोहोर्‍याउने सम्भावना छ ।

अघिल्लो म्याचमा अक्क्षर पटेलको स्थानमा मौका पाएका प्रवीण दुबेले आज पनि खेल्ने सम्भावना छ । डेब्यू म्याचमा विकेटविहीन रहे पनि दुबे बलिङका साथै ब्याटिङ पनि गर्न सक्छन् ।

आजको खेल जित्नैपर्ने दबाबमा रहेको दिल्ली बलियो प्लेइङ-११ का साथ मैदान उत्रिने छ । यसो हुँदा लगातार बेन्चमा बसिरहेका सन्दीपलाई आज पनि दिल्लीले मौका दिने सम्भावना कमजोर छ ।

यदि आज सन्दीपले मौका नपाए उनी यो सिजभर बेन्चमै सीमित हुनेछन् । दिल्लीले १३ म्याच खेल्दा उनी कुनै पनि खेलमा अन्तिम ११ को हिस्सा बन्न सकेका छैनन् ।

दिल्लीले आज निकै परिर्वतन गरेको अवस्थामा चाहिँ सन्दीपले मौका पाउन सक्छन् । एनरिक नोर्टजले यही सिजनमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्दै इतिहास रचेका थिए । तर, उनको प्रदर्शन पनि पछिल्लो म्याचमा सन्तोषजनक छैन । कागिसो रबाडा र नोर्टजे नचल्दा दिल्ली निरन्तर पराजित भइरहेको छ ।

प्रदर्शन खराब भए पनि दिल्लीले नोर्टजे र रबाडाको विकल्प खोज्ने सम्भावना निकै कम छ । यद्यपि शिमरोन हेटमायर र मार्कस स्टोइनिसमध्ये एकलाई चाहिँ आज दिल्लीले विश्राम दिन सक्छ । यी दुबै खेलाडीको पछिल्लो खेलमा खास प्रदर्शन रहन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *