१८ मंसिर २०७७, बिहीबार , ०३:५२

काठमाडौंः नेकपा सचिवालय बैठक शुरू भएको छ । बैठक दिउँसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

यसअघि आजको बैठक स्थगित हुनुपर्ने माग गर्दै आएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष पनि बैठकमा सहभागि छ ।

आजको सचिवालय बैठकमा यसअघि बहुमत सचिवालय सदस्यहरुले बुझाएको पत्र, प्रधानमन्त्री ओलीको जवाफ, कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल हुनेछ ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला सचिवालय बैठकको समय मिचेर ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बेलाएका थिए । चौतर्फी दवावपछि ओली मन्त्रिपरिषद बैठक एक घण्टा पर सार्दै बैठकका सहभागि भएका हुन् ।

शुक्रबारको सचिवालय बैठकमा प्रधानमन्त्री रहेका नेकपा अध्यक्ष ओलीको पत्र, त्यसको जवाफमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको प्रत्युुत्तर पत्र र सचिवालय बैठकमा ओलीमाथि थप आरोपहरु लगाउँदै प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध नयाँ मोडमा पुगेको छ ।

प्रचण्डको प्रतिवेदनमा जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । तर, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने प्रस्तावमा बैठकमै छलफल हुनुपर्ने माग गर्दै आएको छ । जसका कारण बुधबार बसेको सचिवालय बैठकलाई धेरैले चासोका साथ हेरिएकाे छ ।

यसअअघि मंगलबार र बुधबार ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय हुँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *