४ माघ २०७७, आईतवार , ०९:१६

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिए । उनले भने, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ ।

विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झन्डै पाँच लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ । साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ ।

गौतमले कक्षा ११ का विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बताए । सरकारले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको भर्ना, अभिलेखीकरण लगायतका निर्णय भदौ १५ गतेपछि गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन सातासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले आगामी जेठ असारमा विद्यालयले स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्ने बताए ।

११ को नतिजा आएपछि कक्षा १२ मा

यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले अब कक्षा १२ मा जानुअघि नै कक्षा ११ उत्तीर्ण गरेको हुनुपर्ने नियम बनाएको छ ।

विद्यार्थीलाई कक्षा ११ उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै कक्षा १२ मा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *