९ माघ २०७७, शुक्रबार , ०६:१८
  • काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्न नदिने

कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।

छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिए ।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकाले कोभिड फैलिएको देखिएपनि सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने बताए ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए ।

‘आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उनले भने, ‘यो विचमा हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइरहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौं । अहिले तत्काल चाँहि विद्यालय खोल्न अनुमति दिँदैनाैं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *