टिप्पणी, काठमाडौं । देशको कार्यकारी अधिकार बोकेको व्यक्ति अर्थात् प्रधानमन्त्री । विदेश मामिलामा प्रधानमन्त्रीका समकक्षी प्रधानमन्त्री नै हुन्छन् । प्रधानमन्त्रीले प्रधानमन्त्रीकै तहमा वार्ता र संवाद गर्छन् ।
हरेक संस्थाको आफ्नो प्रोटोकल हुन्छ । त्यसमा पनि प्रधानमन्त्री र राष्ट्रपतिको प्रोटोकल झनै उच्च हुन्छ ।
सामान्य कर्मचारी, बौद्धिक व्यक्तित्व, जनता, सर्वसाधारण या अरुले प्रधानमन्त्रीसँग दर्शनभेट पाउनु या छलफल गर्नु अस्वभाविक हुँदैन । तर कार्यकारी प्रोटोकल बोकेको व्यक्तिसँग विदेशी देशको जासुसी संस्था प्रमुखले भेट्नु भने स्वभाविक हुँदैन ।
तर नेपाल हो, यहाँ स्वभाविक र अस्वभाविकले केही अर्थ राख्दैन ।
र, बुधबार त्यस्तै भयो ।
भारतीय जासुसी संस्था रअ का प्रमुख सामन्तकुमार गोयल चार्टड जहाजबाट एयरपोर्ट उत्रिए ।
अनि उनले निर्धक्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे ।
यो भेट सरकारले नयाँ नक्सा राखेर प्रकाशन भएका पाठ्यपुस्तक वितरण रोक्ने निर्णय गरेको केही समयपछि भएको हो ।
यो भेट चिनियाँ कम्युनिष्ट पार्टीले बेल्ट एण्ड रोड इनिसिएटिभलाई कार्यान्वयन गर्नका लागि नेकपासँग छलफल घनिभूत गर्न खोजेको बेला भएको हो ।
र, यो भेट नेपालमा कर्णाली प्रदेशको विवादका कारण नेकपाभित्र तीब्र ध्रुविकरणको अवस्था सिर्जना भएको बेला भएको हो ।
साथै यो भेट भारतीय सेनाप्रमुखको नेपाल भ्रमणको केही समय अघि भएको हो ।
यो भेट नेपालले लिम्पियाधुरा क्षेत्रबारे कुटनीतिक संवादका लागि आग्रह गर्दा पनि भारतले केही जवाफ नदिएको र नेपालीहरु आफ्नै सीमाक्षेत्रमा पनि आवतजावत गर्न नसकिरहेको बेला भएको हो । नेपालले गत ४ मंसिरमा वार्ताका लागि पत्र पठाको थियो । त्यसको जवाफ नआएपछि फेरी
यतिमात्रै होइन, यो भेट चीन र भारतबीच लद्दाखक्षेत्रमा शत्रुतापूर्ण तनाव चुलिएको बेला भएको हो ।
झन महत्वपूर्ण कुरा त के भने कोरोना महामारीबाट भारतमा ७७ लाख मानिस संक्रमित भएको बेला यो भेट भएको हो । महामारीसँग असफलरुपमा जुधिरहेको बेला छिमेकी देशमा गुप्तचर प्रमुख पठाउने कुरा सामान्य प्राथमिकतामा पक्कै हुँदैन ।
आखिर किन आए गोयल ?
दक्षिण एशियाका देशहरुको आन्तरिक राजनीतिमा प्रत्यक्ष सरोकार राख्दै आएको भनेर आलोचित रअ का प्रमुख किन नेपाल आए त ? अहिले चासोको विषय बनेको छ ।
कुटनीतिज्ञहरुका अनुसार, नेपाली राजनीतिमा अस्थिरता चुलिएको बेला रअको भ्रमणले राजनीतिक क्षेत्रमा केही उथलपुथलको सम्भावना नरहेको होइन । त्यसो त रअले यस्ता उथलपुथलहरुका लागि भित्रिरुपमा चलखेल गर्ने गर्दछ ।
तर अहिलेको भेट भने मुख्यतः नेपालमा चिनियाँ प्रभाव रोक्ने दिशामा नै केन्द्रीत हुने एक कुटनीतिज्ञले बताए । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभलाई द्रुत गतिमा कार्यान्वयन गर्न जोड दिइरहेको छ ।
नेपालले बिआरईमा सम्झौता गरेपनि त्यसमा कुनै पनि काम अघि बढेको भने छैन ।
यसका साथै रअ प्रमुखले यो भ्रमण नेकपाभित्रको विवाद, समाजवादी जनता पार्टी र नेपाली कांग्रेसको धारणालगायतबारे बुझ्ने अर्थमा पनि लिइएको छ । “उनले नाडी छाम्ने काम गर्नेछन्” ती कुटनीतिज्ञ भन्छन, “नेपालका नेताहरुले आफ्नै प्रेमिकासँग कुरा गरेजस्तो सबै कुरा भन्ने बानी नै छ । कुटनीतिक मर्यादा त कसले पो पालना गरेको छ र ?”
गोयलको भ्रमणको भित्रि उद्देश्य जे भएपनि जे जसरी उनले हैसियत देखाएर नेपालका राजनीतिज्ञहरुसँग भेट गरे, त्यसले कुटनीतिकरुपमा लज्जाष्पद अवस्था सिर्जना गरेको छ । कम्तीमा प्रधानमन्त्रीले यसरी गुप्तचर प्रमुखसँग भेट गर्नु नहुने थियो भन्ने चर्चा अहिले व्यापक छ ।
यो टिप्पणी एभरेष्ट दैनिकले प्रकाशित गरेको छ ।