१५ माघ २०७७, बिहीबार , १२:४३

धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् ।

धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ ।

यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ ।

यतिबेलाको प्रश्न हो- के चिनियाँ खोपले साँच्चै काम गर्छ ? यसको अर्थ चिनियाँ खोपले कामै गर्दैन भन्ने पक्कै होइन ।

चीनमा निर्माण भएको खोप यस अगाडि नै त्यहा्रका धेरै मानिसले लगाइसकेका छन् । तर यस अगाडि चीनमा निर्माण भएको खोपको सम्बन्धमा पारदर्शिता सम्बन्धी केही प्रश्न उठेका छन् ।

अहिले पनि चिनियाँ खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, चीनले आफ्नो मुलुकमा १० लाखभन्दा धेरै मानिसलाई कोरोना खोप दिइसकिएको दाबी गरेको छ । यसले चिनियाँ खोपमाथिको आशंका अझै बढाउन सहयोग गरेको छ ।

विश्वका सम्पन्न मुलुकहरुले यसअघि नै नौ अर्ब डोज खोप किनिसकेका छन् । जबकी पश्चिमा खोप निर्माताहरुले १२ अर्ब डोज खोप उत्पादन गर्न सक्ने अपेक्षा छ ।

विश्वभर समानरुपमा कोरोना खोप पुर्‍याउने लक्ष्यका साथ अघि सारिएको खोप कार्यक्रम कोभ्याक्सले दुई अर्ब डोज खोप वितरणको योजना बनाएको छ । तर, कोभ्याक्स कार्यक्रमका लागि पनि पर्याप्त खोप भने छैन । त्यसैले अहिलेसम्म खोप खरिदको सम्झौता नगरेका मुलुकको आशा चिनियाँ खोप बन्न सक्छ ।

चीनमा ६ खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेका छन् । त्यस्तै चीन ठूलो मात्रामा खोप उत्पादन गर्न सक्ने मुलुकमध्येको एक हो ।

चीनले आगामी वर्ष एक अर्ब डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ खोपले महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

अन्य मुलुकहरुमा लाखौं मानिसहरु खोपको पर्खाइमा रहेकाले चीनलाई आफ्नो गुमेको साख फर्काउने तथा विश्वको वैज्ञानिक क्षेत्रमा एक महत्वपूर्ण मुलुकको छवि बनाउने मौका छ ।

चीनको यसअघिको खोप काण्डको कारण खोपबारे चीनका मानिसहरुमा नराम्रो छाप परेको छ ।

उत्पादन तथा आपूर्तिमा हुन सक्ने समस्याको कारण चिनियाँ खोप धेरै मानिसहरुको ज्यान बचाउने अस्त्र हुन सक्नेमा भने आशंका कायमै छ ।

बेलायतको केन्ट युनिभर्सिटीकी प्राध्यापक जोय चाङका अनुसार ‘अहिलेको प्रश्न चीनले कसरी विश्वसनीयरुपमा खोपको डेलिभरी गर्न सक्छ भन्ने हो’, ।

चीनको वैज्ञानिक विवरणहरुमा अपारदर्शी स्वभाव र खोप वितरणको विवादित इतिहास उसको लागि टाउको दुखाइको विषय बन्ने चाङको भनाइ छ ।

यूएईपछि बहराइन चिनियाँ कोरोना खोपलाई अनुमति दिने दोस्रो मुलुक बनेको थियो ।

मोरोक्कोले चिनियाँ खोपबाट कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ भने टर्की, इन्डोनेसिया र ब्राजिलमा चिनियाँ खोप अनुमतिको पर्खाइमा छ ।
चिनियाँ खोपको परीक्षण रुस, इजिप्ट र मेक्सिकोलगायत एक दर्जनभन्दा धेरै मुलुकमा चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *