१५ माघ २०७७, बिहीबार , ०१:२६

काठमाडौंः नेपाली कांग्रेसले पनि संसद् विघटनविरूद्व देशैभर आन्दोलन गर्ने भएको छ ।

आइतबारको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यत्रमसमेत घोषणा गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । माघ ३ गते ७५३ स्थानीय तहमा र माघ ८ गते ६ हजार सात सय ४३ वडाहरूमा प्रदर्शन गर्ने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध अब आन्दोलनमा जानुपर्ने बताएका थिए । ‘मैले पहिलेदेखि नै भन्दै आएको छु, प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख काम गरेका छन् । अब आन्दोलनमा जानुपर्छ’, देउवाले भने ।

संसद् विघटनको विरोधमा उत्रिन देउवाले कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसअघि कांग्रेसले गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *