१७ फाल्गुन २०७७, सोमबार , ०४:३६

काठामाडौं – कोरोना भाइरसको सुरूआत भएको चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शुक्रबार डब्ल्युएचओको टोलीले चिनियाँ वैज्ञानिकहरूसँग भेटघाट तथा वुहानका ल्याब, बजार तथा अस्पतालमा भ्रमण गर्ने योजना बनाएको रोयर्टर्सले जनाएको छ।

वुहान पुगेको दुई हप्तापछि टोली क्वारेन्टिन होटलबाट बिहीबार निस्केको थियो। क्वारेन्टिनबाट निस्केसँगै उनीहरूले फिल्ड वर्क सुरू गरेका हुन्। चीन र अमेरिकाबीच भएको झगडाका कारण सन् २०१९ बाट सुरू भएको कोरोना भाइरसको महामारीबारे अनुसन्धान गर्ने मिसन अघि बढ्न सकेको थिएन।

‘टोलीले अस्पताल, ल्याब र बजार भ्रमण गर्ने योजना बनाएको छ। वुहान इन्स्टिच्युट अफ भाइरोलोजी, हुवानान बजार, वुहान रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)मा भ्रमण हुनेछ,’ डब्ल्युएचओले भनेको छ। स्वतन्त्र विज्ञहरूले पहिलो पटक संक्रमण देखिएका बिरामीहरूसँग समेत कुराकानी गर्ने डब्ल्युएचओ जनाएको छ।

कोरोना भाइरसको सुरूवात भएको भनिएको हुवानान सी फुड होलसेल मार्केटको भ्रमण गरेपछि महामारीको केन्द्रविन्दु हो/होइन वा यसबारेमा विस्तृत रूपमा थाहा पाइने टोलीमा रहेकी थिय फिस्चरले भनिन्।

यसअघि चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो। चीनका लागि उडिसकेका दुई जना सदस्यहरूमध्ये एक जना फर्किएका थिए। अर्का भने ट्रान्जिटमै अड्किएका थिए। लामो समयदेखि डब्लुएचओ र बेइजिङबीच वार्ता भएपछि अनुसन्धानकर्ताको टोली माघ १ गते चीन पुगेको थियो।

उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन्। कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको थियो। अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *