९ माघ २०७७, शुक्रबार , ०२:३०

१ माघ, काठमाडौं – पेट्रोलियम व्यवसायी उपभोक्ताबाट अतिरिक्त मूल्य लिने निर्णयबाट पछि हटेका छन् । पेट्रोलियम पदार्थमा  प्रतिलिटर ५० पैसा बढी मूल्य लिने निर्णयबाट पेट्रोलियम व्यवसायीहरु पछि हटेका छन् । कमिसन वृद्धि नभएको भन्दै पुस २१ गते बसेको पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन उठाउने निर्णय गरेको थियो ।

‘हाम्रो मागबारे निगमले गृहकार्य थालेको बताएको छ, हामीले पनि केन्द्रीय समिति बैठक बोलाएका छौं, त्यसैले तत्कालका लागि मूल्य बढ्दैन्,’ महासचिव अर्यालले भने । अबको सात दिन निगमको निर्णय कुर्ने र माग पुरा नगरे आन्दोलन थाल्ने अर्यालको भनाइ छ । तर, आयल निगमले भने व्यवसायीले भने जति कमिसन बढाउन नसकिने जनाएको छ । व्यवसायीलाई अन्याय परेको हुन सक्ने भएपनि उनीहरुले मागे जतिनै कमिसन वृद्धि गर्न नसकिने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

‘माग धेरै वर्षदेखिका छ त्यो जायज पनि छ तर छलफल गरेर  टुंग्याउन पर्छ,’ प्रवक्ता उपाध्ययले भने । निगमसँग गरेको करार विरुद्ध गएर व्यवसायीले उपभोक्तासँग थप मूल्य लिए तर त्यो दण्डनीय हुने उनको भनाइ छ । व्यवसायीले मागका सन्र्दभमा निगमले गृहकार्य थालेका कारण तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले बताए ।

सञ्चालन खर्च बढेको भन्दै पेट्रोलियम व्यवसायीहरुले कमिसन बढाउन निगमलाई दबाव दिइरहेका छन् । मासिक ६१ हजार लिटरदेखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यवसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत, एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले लिटरमा कमिसन बढाउनु पर्ने व्यवसायीहरुको माग छ । पछिल्लो समय लिटरमा ५० पैसा कमिसन बढाउनु पर्ने माग व्यवसायीको छ । तर निगम भने कमिसन बृद्धि बढीमा ३० पैसामा सीमित हुनु पर्ने अडानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *